लिच्छविकालीन सिफल ढोका पुनःनिर्माण हुदैँ, शिलान्यास सम्पन्र
५ पौष २०८१, शनिबार

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित काठमाडौँ महानगरपालिका–७ र ८ को सिमानामा रहेको लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले पूजा गरी लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको हो ।
'ढोका जीर्ण भएकाले पुनःनिर्माण गर्न लागिएको वडाध्यक्ष आशामान सङ्गतले बताउनुभयो ।' उहाँले, लिच्छविकालीन सिफल ढोका एक वर्षभित्र पुनःनिर्माण गर्ने र पुरानो मौलिकद्वार पशुपतिनाथको नौ वटा ढोका मध्येको एक ढोका रहेकाले यसकाे डन्ड्डी सिमेटको प्रयोग नगरी जस्ताको जस्तो देखिने हिसाबले अगाडि मूर्तिहरू सहित निर्माण गरिने बताउनुभयो ।
विसं २०८२ मङ्सिर २३ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सिफल ढोका रु ४४ लाख ३८ हजार दुई सय १८ लागतमा ढोका पुनःनिर्माण थालिएको पर्यटन समिति संयोजक सङ्गतले जानकारी दिनुभयो । लिच्छविकालमा निर्माण भएको ढोकाको २०४९ सालमा पुनःनिर्माण गरिएको थियो । यसैगरी २०५२ सालमा उत्तरपट्टिको ढोका र २०७४ सालमा दक्षिणपट्टि फलामको ढोका राखी निर्माण गरिएको थियो ।
“लिच्छविकालीन ढोकाको भग्नावशेष हाल नभेटिएपनि सेतो ढोका राणाकालीन समयमा निर्माण भएको यहाँका ज्येष्ठ स्थानीय बताउँछन्, हाल ढोका भत्काउँदा ब्रिटिसहरूले बनाएको भग्नावशेष भेटिएको छ”, स्थानीय श्यामकृष्ण सङ्गतले बताउनुभयाे ।
परापूर्वकालमा यहाँको नाम ढ्वाकासी टोल रहेकाले त्यो बेलादेखि प्रवेशद्वार ढोका रहेका भन्दै यहाँ बस्ती बिस्तार भएसँगै नाम पनि सिफल ढोका नामाकरण गरिएको स्थानीय सङ्गतले बताउनुभयो । नेपाल संवत् ३४५ मा नवाली टोलमा बस्ती बसेपछि यहाँ ढोका निर्माण गरिएको उहाँको भनाइ छ ।
हाल निर्माण गर्न लागिएको ढोकाको उचाइ ४१ फिट एक इनच, जगदेखि २८ फिट सात इन्च चौडाइ रहेको छ । उक्त ढोकाबाट नवाली टोल हुँदै जयबागेश्वरी निस्कने गरिन्छ ।