काठमाडाैँ । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी गर्नुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो ।
महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीचको सहकार्यलाई अझ घनिष्ट बनाउने गरी छलफललाई अघि बढाइएको पनि बताउनु भयो । उहाँले सरकारको कामलाई व्यवस्थित गर्नका लागि आफूहरुले कार्यदल बनाएर न्युनतम साझा कार्यक्रम तयारीको कामलाई अघि बढाएको पनि बताउनु भयो ।
महासचिव पोखरेलले भन्नुभयो,सरकारको कामको समिक्षाको समय शुरु भएको छैन । यद्यपि सरकारले नयाँ सरकार गठन भएपछि पार्टी अध्यक्षको नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मूल्यांकन रहेको छ । र सरकारको कामलाई प्रभावकारी बनाउने सन्दर्भमा र खासगरी सत्ता पक्षमा रहेका राजनीतिक दलहरुको बीचको सहकार्यलाई अझ घनिष्ट बनाउने हिसावले संसद र सरकार दुवैलाई प्रभावकारी बनाउने हिसावले सत्तामा रहेका राजनीतिक दलहरुको बीचमा छलफल पनि आरम्भ भएको छ ।
र त्यसका आधारमा भविष्यलाई कामलाई अझ प्रभावकारी बनाउने काम गर्नेछौं । अर्कोतर्फ प्रमुख पार्टीहरुको बीचमा कमन मिनिमम प्रोग्राम तयार गरेर कामलाई व्यवस्थित गर्ने खालको योजना बनेको छ । त्यस अन्तर्गत कार्यदल बनाएर काम अगाडि बढेको कुरा पनि म तपाईहरुको बीचमा राख्न चाहन्छु ।
फरक प्रसंगमा महासचिव पोखरेलले विवादित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाबारे संसद र पार्टी संसदीय दलले गर्ने निर्णय आफूहरुलाई स्वीकार हुने पनि बताउनु भयो । न्युज एजेन्सी नेपाल