काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बलर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
उहाँले एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार ओमानविरुद्ध भएको खेलमा विकेट लिएर दुर्लभ विश्व कीर्तिमानी बनाउनु भएको हो ।
सन्दीपले आजको खेलमा एक विकेट लिँदै क्रिकेट एकदिवसीय इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गर्नुभएको हो । सन्दीपले यसअघि ४१ खेलमा ९९ विकेट लिइसक्नु भएको छ । आजको खेलमा एक विकेट लिएर ४२ खेलमा सय विकेट पुर्याउनु भएको हो ।
सन्दीप यसअघि ओडीआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वको दोस्रा खेलाडी रहेका छन् । यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । रसिदले ४४ खेलमा सय विकेट पूरा गर्नुभएको हो ।