गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छ : गगन थापा

दक्ष खबर 16574+ समाचार ( )
९ आषाढ २०८०, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताउनुभएको छ ।

 

शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-४ को प्रथम क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने, गठबन्धन फेर्ने कुरा नौलो नभएको बताउनुभएको हो । 

 

महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको बताउदैँ उहाँले 'समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने बताउनुभयो ।' 

 



‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरूको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौ थापाले बताउनुभयो । 


चुनाव पछाडि सरकार बन्ने, बदल्ने कुरा सामान्य हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ । तर चुनावअघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर, सरकार गुमाउँन तयार भएनौँ,’ उहाँले बताउनुभयो। 

‘के हुन्थ्यो कम्युनिष्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ ? अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ । यो गठबन्धन, जताततै प्रदेशमा तल,माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो ।

हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ,’ महामन्त्री थापाले भने, ‘हाउस समावेशी बनाउने अरू तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर निर्वाचन प्रणाली बदलौँ ।

अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ । सकिन्छ नि । समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली कांग्रेसलाई ल्याउनुपर्छ । कांग्रेसले आकर्षण गरोस् ।’ महामन्त्री थापाले बताउनुभयो । 


उहाँले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अलमलिँदा समाज प्रभावित भएको समेत टिप्पणी गर्नुभयो । अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भएपनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने थापाले बताउनुभयो । तस्विर : दिलिप वैद्य


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार