काठमाडौँ । सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारीबाट आजैदेखि लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन्।
गुरुङले पछिल्ला दिनहरूमा आफ्नो शेयरलगायत विषयमा उठेका जनचासो, प्रश्न र टिप्पणीलाई गम्भीर रूपमा लिएको बताएका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन्।
देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजलाई संकेत गर्दै उनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने बताएका छन्। साथै, आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुन सकोस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे।
उनले आफ्नो निर्णयलाई “नैतिक जिम्मेवारीको निर्वाह” भन्दै सञ्चारकर्मी, नागरिक समाज र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्।
गुरुङको राजीनामापछि सरकारभित्र थप राजनीतिक तरंग उत्पन्न हुने अनुमान गरिएको छ। साथै, उनीसँग जोडिएका आरोप तथा आर्थिक सम्बन्धका विषयमा अब औपचारिक छानबिन अघि बढ्ने सम्भावना पनि देखिएको छ।