त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज, प्रमुख अतिथि नोबेल पुरस्कार विजेता वैज्ञानिक

दक्ष खबर 16457+ समाचार ( )
९ मंसिर २०८२, बिहीबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । बिहीबार विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो ।

यसपटक समारोहका प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहेका छन् । 

उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने व्यवस्थासम्म सबै तयारी सम्पन्न भइसकेको उनले जानकारी दिए । 

समारोहमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ। त्रिविका विभिन्न सङ्काय र तहबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । 

यस अवसरमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ । विश्वविद्यालयका अनुसार मानविकी, व्यवस्थापन, कानून र शिक्षा सङ्कायबाट ठूलो सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्। 

नोबेल पुरस्कार विजेताको उपस्थितिले त्रिविको शैक्षिक प्रतिष्ठा र अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइ दिने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार