काठमाडौँ । बागमती सफाइ महाअभियान शुरु भएको ६०९ हप्तापछि स्थानीय सरकारको नेतृत्वमा सफाइमा अभियानको थालनी भएको छ । त्यस्तै, यो हप्ता काठमाडौं महानगरपालिका-८ को नेतृत्वमा सफाइ भएको हो । जसले गुह्येश्वरी क्षेत्रमा सफाई गरेको थियो ।
गुह्येश्वरी क्षेत्रका विभिन्न स्थानमा गरिएको सर-सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको कामपा ८ का सचिव सत्यदेव पण्डितले जानकारी दिनुभयो । सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको हो ।
सफाइमा, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगत, वडा सदस्यद्वय सरस्वती राज भण्डारी, सलोनी ओडारी, वडाका सचिव सत्यदेव पण्डित लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछानेको पनि उपस्थिति रहेको थियो ।
२०७० जेठ ५ गते शुरु भएको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ । गत बुधबार काठमाडौं महानगरपालिका–११ मा वाग्मती छुने महानगरपालिकाका १० वडाका वडाध्यक्षको सहभागितामा भएको बैठकले सफाइको जिम्मेवारी वडाले लिने सहमति भएको थियो ।