गणेश नेपालीको निधनपछि काठमाडौँ महानगरको शोक, परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको घोषणा

दक्ष खबर 17388+ समाचार ( )
२५ आषाढ २०८३, शुक्रबार

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार, मिति २०८३ असार २५ गते राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगु जिल्ला घर भई हाल भक्तपुर बसोबास गर्दै आएका गणेश नेपालीको उपचारका क्रममा निधन भएको हो। महानगरले घटनाप्रति स्तब्ध भएको जनाएको छ भने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

महानगरले नेपाल सरकार, गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। तथ्यगत छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तिमा उल्लेख छ।

महानगरले नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता दुःखद घटना पुनः नदोहोरिने वातावरण बनाउन तथा असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार रहेको जनाएको छ। साथै संवेदनशील परिस्थितिमा सबैलाई संयमित र धैर्यवान रहन अपिल गरिएको छ।

महानगरपालिकाले दिवंगत गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारीको व्यवस्था तथा सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने विषय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने जानकारी दिएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार