पशुपतिनाथमा दर्शनार्थीको भिड : सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने
१ श्रावण २०८०, सोमबार
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार दर्शनार्थीको भिड लागेको छ ।
सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते नै परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो ।
जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
साउनको सोमबार रु सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन । एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवकका रूपमा तैनाथ गरेिएको छ । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।
सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।