काठमाडौँ । संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित ११औँ इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि लिभिङ वर्ड र नेपालय पब्लिकले पाएका छन् । शुक्रवार भएको फाइनल खेलमा ब्वाइजतर्फ लिभिङ वर्ड र गल्र्सतर्फ नेपालयले च्याम्पीयनशीप उपाधि हात पारका हुन् ।
गोकर्णेश्वर नगरपालिका वडा ८ अत्तरखेलस्थित नेपालय पब्लिक स्कुलमा भएको ब्वाइजको फाइनलमा लिभिङ वर्डले होली एन्जल्सलाई १–० गोलले पराजित गरि च्याम्पियन बन्यो । लिभिङ वर्डका लागि झुमिक लोमीले निर्णायक १ गोल गरे । माउन्ट एभरेष्ट नेपालयलाई १–० गोलले हराउदै तेश्रो भयो ।
यस्तै, फाइनलमा गल्र्सतर्फ नेपालयले सुनौलो भविष्यमाथि ५–० गोल अन्तरले विजयी बन्यो । नेपालयकी विनु मगरले ह्याट्रिक गरिन् भने मनीषा सुनुवारले २ गोल थपिन् । यसैगरी, लिभिङ वर्डले अल्माइटी मोडललाई पाखा लगाउदै तेश्रो भयो । पाँच दिनसम्म चलेको नकआउट प्रतियोगिताको ब्वाइजमा १६ टिम तथा गल्र्सतर्फ १० टिमले सहभागिता जनाएका थिए ।
यसैगरी, ब्वाइजतर्फ उत्कृष्ट खेलाडी लिभिङ वर्डका सुन्दर गुरुङ भए भने लिभिङ वर्डका ग्याट्सो गुरुङ प्रतियोगितामा ५ गोल गरी सर्वाधिक गोलकर्ता बने ।
होली एन्जल्सका सन्देश थिङ उत्कृष्ट डिफेन्डर भए भने लिभिङ वर्डका फिलिप लोमी उत्कृष्ट गोलरक्षक बने । गल्र्समा नेपालयकी मनीषा सुनुवार उत्कृष्ट खेलाडी, नेपालयकी शिखा शाह उत्कृष्ट डिफेन्डर, लिभिङ वर्डकी सलोनी राई उत्कृष्ट गोलरक्षक र प्रतियोगितामा ७ गोल गर्ने नेपालयकी विनु मगर सर्वाधिक गोलकर्ता भइन् ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथी दीपककुमार रिसाल, गोकर्णेश्वर ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, नगर युवा तथा खेलकुद समितिका अध्यक्ष सञ्जय लामा, इसानका पूर्व अध्यक्ष बालमुकुन्द कार्की, गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्का लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगिताको संयोजक नेपालयका निर्देशक बुद्ध श्रेष्ठ रहनु भएको थियो । समापन समारोहको कार्यक्रम इसानका महासचिव तथा अलमाइटी आइडियल मोडर्न स्कुलका प्रिन्सिपल गणेशप्रसाद खतिवडाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका सह–संयोजक गुरुप्रसाद लुइँटेलले स्वागत मन्तव्य दिनुभएको थियो ।