ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनु भएकाे छ ।
प्रधानमन्त्रीले, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’
प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताउनुभयाे ।
उहाँले, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन । समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’
प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताउनुभयाे ।
उहाँले,‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’