धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठाेक्किए, ३५ जना घाइते
२० मंसिर
२०८२, शनिबार
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटना हुदाँ ३५ जना घाइते भएका छन् ।
स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटाक मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए ।
घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ । दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।