काठमाडौँ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि जनवरी २० देखि भाषा परीक्षा हुने भएको छ।
ईपीएस कोरिया शाखा र एचआरडी कोरियाले तीन चरणमा परीक्षा सञ्चालन गर्ने भएकाे हाे । पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकीले तेस्रो चरणमा परीक्षा दिन पाउने भएका छन्।
उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि जान करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन् । कम्प्युटरबाट लिइने परीक्षा दैनिक ५ सिफ्ट सञ्चालन हुनेछ । दिनमा एक हजार जनाले परीक्षा दिन पाउने छन् ।
तर क्षमता बढाउनका लागि थप उपकरण माग गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयाे ।
पहिलो चरणमा परीक्षा दिइसकेकाहरुको नतिजा सार्वजनिक भएपछि दोस्रो चरणको परीक्षा सञ्चालन हुनेछ । दोस्रो चरणको नतिजापछि मात्रै अन्तिम चरणको परीक्षा हुनेछ। तस्बिर : निकिता पण्डित