पराक्रम बालप्रतिभा पुरस्कार धादिङकी प्राप्ति सुवेदीलाई
२८ पौष २०८१, सोमबार
काठमाडौँ । साहित्यसेवी रमा अधिकारी तथा महेश पौड्यालले आफ्ना दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको ‘पराक्रम बालप्रतिभा पुरस्कार’, वर्ष २०८१ का लागि धुनीबेसी ७, धादिङकी प्रतिभाशाली बालिका प्राप्ति सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
पुरस्कारलाई व्यवस्थापन गर्दै आएको पवर्तीय साहित्य समाजका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा गत मङ्गलबार काठमाडौँमा बसेको प्रतिभा छनोट समितिको बैठकले उक्त पुरस्कार लेबोरेटरी स्कुल कीर्तिपुरमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्रा सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
दृष्टिविहीन भएर पनि अध्ययनका साथै कला, साहित्य–सिर्जना र सङ्गीतमा आफूलाई पोख्त तुल्याउँदै आएकी विद्यार्थी सुवेदीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समितिकी सदस्य–सचिव साहित्यकार भवानी खतिवडाले जानकारी दिएकी छिन् । पुरस्कार यही फाल्गुन महिनाको कुनै उपयुक्त दिनमा प्रदान गरिने सदस्य–सचिव खतिवडाले सञ्चार माध्यमहरूलाई जानकारी गराएकी छिन् ।
विगत ७ वर्षदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशि १५ हजार रहेको छ । यसअघि यो पुरस्कार आंशिक मस्तिष्क पक्षाघात भएका तर नाकले लेख्न सक्ने दोलखाका कवि प्रतिभा दर्शन केसी, प्रतिकूल आर्थिक अवस्था भएको परिवारबाट आएर पनि जिल्लाभरि वक्तृत्व कलामा अब्बल प्रतिभा देखाउँदै आएकी काभ्रे पाँचखालकी क्षात्रा तारा तामाङ, पछाडि परेको चेपाङ समुदायमा गायन प्रतिभाका लागि अब्बल मानिएका चितवनका प्रेम चेपाङलाई, आदर्श मावि भक्तपुरका दृष्टिविहीन तर जेहेनदार विद्यार्थी एलिशा फुयाल र योगेश राईलाई तथा चितवनकै प्रतिभाशाली चेपाङ बालिका मिनुमाया प्रजालाई प्रदान गरिसकिएको छ ।