काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी उपलव्ध गराउन विद्यमान कानून परिमार्जन गर्ने तयारी गरिएको छ ।
बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरुसंग प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी दिने बिषयमा वर्तमान कानूनी व्यवस्थाका बारेमा छलफल गर्नुभएको हो । सांसदहरुले कुटनीतिक राहदानीको माग गरेपनि कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएको राप्रपा प्रमुख सचेतक खश्बु ओलीले बताउनुभयो ।
ऐन र नियम कानुनभन्दा माथि बाहिर गएर भन्दा पनि विद्यमान कानूनी व्यवस्थालाई नै परिमार्जित गर्ने बिषयमा छलफल भएको उहाले जानकारी दिनुभयो । राहदानी ऐनमा सरकारी कार्यक्रम वा विशेष काममा जाँदा तोकेका पदाधिकारीले मात्रै कुटनीतिक राहदानी पाउने व्यवस्था छ ।
तर, सांसदहरु विशेष कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा अहिलेको नियमावली अनुसार कुटनीतिक राहदानी दिन नमिल्ने देखिएपछि त्यसलाई कसरी सहजीकरण गर्ने भन्नेबारे रायसल्लाह लिने काम भएको उहाको भनाइ छ ।
उहाले सभामुख र दलका प्रतिनिधिबीच भएको छलफला बारेमा आ–आफ्ना दलमा छलफल गर्ने र पुनः सभामुखसंग छलफल गर्ने सहमति भएको धारणा राख्नुभयो । राप्रपा प्रमुख सचेतक ओलीले संसद सञ्चालन र सांसदहरुको समस्याका बारेमा सभामुखले निकै सकारात्मक भूमिका खेलिरहनुभएको प्रतिक्रिया समेत दिनुभयो ।