काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरेकाे छ । महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो ।
पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदैछ ।
आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ ।
नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ । तस्विर : काठमाडौँ महानगरपालिका