“आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिक कसरी आउँथे ?”, ओलीले पश्न गर्दै भन्नुभयो,“सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।” तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको पनि बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । “०६३ सालमा म पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तुको सिँचाइ समस्या समाधानका लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको थिए । त्यसलाई फेरि अगाडि बढाउन जरूरी छ”, उहाँले भन्नुभयो ।
कपिलबस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ । उहाँले पर्यटन विकासका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने जोड दिनुभयो ।
देशभरका तीन सय ९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र त्यसमध्येका एउटा अस्पतालको आज उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।