काठमाडाैँ । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
उजुरीको जाँचबुझ आज दिउँसो सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
भोली पुस २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि भोली नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।