काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्काे जाेखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
बुधबार सामाखुसीस्थित नेपाल प्रहरीकाे विपद् व्यवस्थापन कार्यालयकाे निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्ताे निर्देशन दिनुभएको हाे ।
"जुन सुकै बेला जेसुकै हुन सक्छ । त्याे मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्काे पूर्वानुमान हुन्छ । तर, भुकम्प र आगलागीकाे पूर्वानुमान हुँदैन," उहाँले भन्नुभयाे, "हामी मनसुनकाे पूर्वसन्ध्यामा छाैँ । मनसुन सक्रिय भएपछि बाढी र पहिराे आउँछ । त्यसकाे पूर्वतयारीमा हामी तयार रहनुपर्छ।"
विपद्काे व्यवस्थापन पनि नेपालकाे जिम्मेवारी दिएको भन्दै चाैबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिनुभयाे ।
"विपद्काे जाेखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीकाे जिम्मेवारी हाे भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीकाे उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भराेसा बढ्दाे छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खाेज्छ । हामीले जनताको भावनालाई सेवाकाे भावले सम्बाेधन गर्नुपर्छ," उहाँले भन्नुभयाे ।
अहिले बाढी-पहिलो र डुवानकाे जाेखिम न्युनीकरण र व्यवस्थापनकाे तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ थियाे । "मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्याे । समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ," उहाँले भन्नुभयाे ।
यसपटक पहिलेकाे भन्दा नेपाल प्रहरीकाे बजेट बढेकाे भन्दै तलब, पाेशाक, महंगी भत्तामा कुनै समस्या नहुने उहाँको भनाइ थियाे । यस्तै नेपाल प्रहरीकाे ऐन संशोधनका लागि संघीय संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने गृहमन्त्री लेखकले बताउनुभयाे ।