चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गर्नुभएकाे छ ।
उहाँले भन्नुभयो “पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ । धेरै सूचकले यही कुरा देखाउँछ ।” माडीमा राम मन्दिर बन्ने बताउँदै उहाँले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने बताउनुभयो । माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उहाँले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताउनुभयो ।
एमालेले मिसन-२०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो “चितवन बनाउने हो भने एमालेलाई जिताउनु पर्छ । वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ ।” पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन दिँदै उहाँले भन्नुभयो “आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ ।”
एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै सपथग्रहण गरेको छ ।