शारदापीठ श्रृङ्गेरीका शङ्कराचार्य श्री विधुशेखर भारती नेपालमा
७ जेठ २०८३, शुक्रबार
काठमाडौँ । दक्षिणाम्नाय शारदापीठ श्रृङ्गेरीका शङ्कराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम नेपालको तीर्थयात्राका लागि काठमाडौँ आइपुग्नुभएको छ ।
विधुशेखर भारतीले श्री पशुपतिनाथ, मुक्तिनाथ, देवघाटधाम, मौलाकालिका, बूढानीलकण्ठलगायत तीर्थस्थलको पूजा, आराधना एवं दर्शन गर्नुहुने कार्यक्रम रहेको उहाँको भ्रमण व्यवस्थापनका लागि गठन गरिएको सचिवालयले जनाएको छ । आजै उहाँले पशुपति क्षेत्रस्थित बत्तीसपुतलीमा रहेको श्री रामचन्द्र मन्दिरको दर्शन गर्नुभएको छ ।
काठमाडौंँमा उहाँले वसन्तपुरस्थित कालभैरवको दर्र्शन गरी त्यस क्षेत्रका सम्पदाको अवलोकन गर्नुहुने कार्यक्रम छ । यसैगरी पाटनको कृष्णमन्दिर त्यहाँको सम्पदास्थलको पनि अवलोकन गर्नुहुने छ । उहाँले नेपालमा छँदा भाटभटेनी मन्दिर र किओच बाल अस्पतालको उद्घाटन समेत गर्नुहुने कार्यक्रम रहेको छ । श्रृङ्गेरी पीठका उत्तराधिकारी शङ्कराचार्यको यो नेपाल भ्रमण करिब ६१ वर्षपछि भएको हो । यसअघि २०२२ सालमा श्रृङ्गेरीका शङ्कराचार्यले नेपाल भ्रमण गर्नुभएको थियो ।
उहाँको भ्रमणलाई धार्मिक विजय यात्रा नेपाल २०८३ नाम दिइएको छ । शङ्कराचार्य विधुशेखर नेपाल आएका बेला पशुपतिनाथ परिसरस्थित शङ्कराचार्य मठमा विशेष कार्यक्रम आयोजना गरिएको छ । शारदा पीठ आद्य शङ्कराचार्यले स्थापना गर्नुभएका चार पीठमध्ये पहिलो पीठ हो ।