गोकर्णेश्वर-३ मा आगामी नीति तथा कार्यक्रम निर्माणका लागि योजना संकलन सुरु

दक्ष खबर 15672+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ ले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माणको तयारीस्वरूप योजना संकलन कार्यक्रम सुरु गरेको छ।

वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलको अगुवाइमा साबिक बालुवा गाविस वडा नं. १ मा सोमबार कार्यक्रम सम्पन्न गरिएको हो। त्यसैअनुसार मंगलबार वडा सदस्य बुद्धि बहादुर श्रेष्ठको नेतृत्वमा साबिक २ नं. वडाको कार्यक्रम वडा कार्यालय प्राङ्गणमा सम्पन्न भयो।

कार्यक्रमहरूमा उल्लेखनीय जनसहभागिता देखिएको छ। वडाभित्र रहेका प्राथमिकताका योजनाहरू नागरिकस्तरबाटै छनोट गरी बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रक्रिया पारदर्शी, समावेशी र जनमुखी बनाउने उद्देश्य रहेको वडाले जनाएको छ।

वडा सदस्य श्रेष्ठले कार्यक्रमका क्रममा सबै वडावासीहरूलाई आफ्नो क्षेत्रका अत्यावश्यक समस्याहरू पहिचान गरी प्राथमिकताका आधारमा योजना प्रस्ताव गर्न अनुरोध गरे।

“विकास योजनाहरू जनताबाटै आउनुपर्छ भन्ने हाम्रो अवधारणा हो,” उनले भने, “जनप्रतिनिधिको हैसियतमा म सबैलाई आफ्नो ठाउँको वास्तविक आवश्यकता अनुसार योजना दिन आग्रह गर्दछु।”

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, टोल विकास समिति, बाल क्लब, महिला समूह, पत्रकार लगायत स्थानीय बासिन्दाहरूको सक्रिय उपस्थिति रहेको थियो। यसले वडाको दिगो विकासप्रति व्यापक जनचासो र सरोकार देखाएको आयोजकहरूको भनाइ छ।

आज सम्पन्न कार्यक्रममा महाङ्काल, टोठाडोल, डोखाडोल, हेम्चाडाँडाँ, घट्टेखोला, बाउचा टोल, भण्डारी चोकलगायत क्षेत्रहरूबाट आएका प्रतिनिधिहरूले आफ्नो टोलका आवश्यकता र समस्याहरू प्रस्तुत गरेका थिए। योजना संकलनका क्रममा आधारभूत पूर्वाधार, सडक विस्तार, ढल निकास, खानेपानी, बालमैत्री संरचना र सामुदायिक भवन जस्ता विषयहरू प्रमुख रूपमा उठान गरिएका थिए।

वडा कार्यालयले यस्तो कार्यक्रम क्रमशः अन्य टोल तथा क्षेत्रहरूमा पनि सञ्चालन हुँदै जाने जानकारी दिँदै सबै सरोकारवाला पक्षहरूलाई आगामी दिनमा हुने कार्यक्रममा सक्रिय सहभागी हुन विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार