काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा नेकपा एमाले संगठन बिभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो अधिकारको दुरुपयोग गर्दै अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गर्नुभएको हो ।
अराजकता केही दिनको पाहुना मात्रै भएको उल्लेख गर्दै अध्यक्ष ओलीले लामो समय नचल्ने दावी गर्नुभयो । उहाले समय र परिस्थिति सधैँ एउटै नरहने भएकाले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिलाई समेत संयमित हुन सुझाव दिनुभयो ।
उहाँले भदौ २३ र २४ गते भएको आगजनीलगाएत उपद्र मच्चाउनेहरुलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गर्नुभयो । त्यस्तै अध्यक्ष ओलीले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति देशद्रोही भएको बताउनुभयो । सीमाबारे दुई देशबीचकोे कुरामा अर्को देशलाई तान्ने बिषय अकूटनीतिक भएको उहाको भनाइ । भारतको एक इन्च पनि जमिन नमिचेको भन्दै ओलीले देशद्रोही कुराका कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको जिकिर गर्नुभयो ।
उहाँले पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरु चिर्ने र नयाँ विश्वास, नयाँ जोश र नयाँ जागरका साथ पार्टीलाई अघि बढाइने बताउनुभयो । अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएकाले पार्टी विरुद्ध भ्रम फिँजाउने काम बन्द गर्न निर्देशन दिनुभयो ।
उहाँले एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो ।