कामपा-८ को गायत्री मार्ग बाटोमा पुनःनिर्माणसहित ढुंगा छापिदैँ
१२ वैशाख २०८१, बुधवार
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ अन्तरगत रहेको जयवागेश्वरी युवा क्लबदेखि पुञ्पाजली पेट्रोलपम सम्मको बाटोमा पुनः निर्माण सहित ढुंगा छाप्ने काम अघि बढेको छ ।
मृत्युञ्जय महादेव उपभोक्ता समिति अन्तरगत उक्त गायत्री मार्गमा ढुंगा छाप्ने काम अगाडि बढाइएको हो ।
'उक्त आयोजनाको कुल अनुमानित लागत उनन्चास लाख सतहत्तर हजार एक सय पचासी रूपैयाँमा (भ्याट तथा ओभरहेड बाहेको) रहेको र असार १५ भित्रै उक्त काम सक्याउने गरी काम अगाडि बढाइएको', काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले बताउनुभयो ।
उहाँले, हाल सिफल ढोकादेखी जयवागेश्वरी मन्दिरसम्म पनि पुनः निर्माण सहित ढुंगा छाप्ने काम जारी रहेको जानकारी दिनुभयो । त्यस्तै, आयोजनालाई तिव्र रूपमा अगाडि बढाउन र सम्पन्न गर्न तिव्रताका साथ काम भईरहेको उपभोक्त समिति अध्यक्ष दिलिप बैद्यले बताउनुभयो ।
कामपा ८ का विभिन्न स्थानमा हाल विकास निर्माणका कामहरू तिव्रताका साथ अगाडि बढिरहेको छ । वडा -८ मा हाल पुरातात्त्विक सम्पदाको खोजी एवं पुनः निर्माण, इनार, धारा, कुवा तथा पाटिपौवाको पुन:उत्खननका कार्यहरू अगाडि बढिरहेको छ ।