राष्ट्र उज्यालो बनाउने अभियानमा प्रधानमन्त्री
७ मंसिर
२०८०, शनिबार
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबाट सञ्चालित तीनमहिने अभियानले जनतामा नयाँ ऊर्जा सञ्चार गरेको बताउनुभयो । जनस्तरबाट उठेका मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका निम्ति अनुभूत हुनेगरी काम गर्न सुझाव दिनुभयो ।
केन्द्रका अर्का नेता विशाल खड्काले बुढानीलकण्ठ नगरको नामकरण गरिएको बुढानीलकण्ठ मन्दिरको ‘ब्राण्डिङ’ गरेर पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो । उहाँले नगरको सुकुम्बासी समस्या समाधानमा जोड दिनुभयो ।
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा आफू जुटेको बताउनुभएको छ ।
माओवादी केन्द्रको बुढानीलकण्ठ नगर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले नेकपा माओवादी सरकारको नेतृत्वमा रहँदा सधै जनपक्षीय काम गर्ने गरेको र त्यसैको निरन्तरतास्वरुप अहिले मुलुकलाई पूर्णरुपमा उज्यालो बनाउने अभियानमा आफू लागेकोे बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘देशमा समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य काम हाम्रै पालामा भएका छन् । मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु तर हामीले गरेका कामको जस लिन सकिरहेका छैनौं ।”
प्रधानमन्त्रीले आफ्ना तीनवटै कार्यकालमा महत्वपूर्ण काम भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताउनुभयो । माओवादीले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनतासँगको सम्बन्धलाई विस्तारमा पार्टी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिलो कार्यकालमा गरिब किसानको रु एक लाखसम्मको ब्याज र तीस हजारसम्मको साँवा नै मिनाहा गरियो । विकासका विशाल आयोजना सञ्चालन भए । प्रत्येक गाविसमा सहकारी निर्माण गरियो ।”
पार्टीको तीनमहिने अभियानबाट जनआधार सुदृढ हुँदै गएको भन्दै आगामी फागुनमा विधान अधिवेशन गरेर पार्टीलाई नयाँ ढङ्गले अघि बढाइने पार्टी अध्यक्ष दाहालले बताउनुभयो ।
त्यस अवसरमा स्थानीयबासीका तर्फबाट धोवीखोला नियन्त्रणलगायत नगरक्षेत्रका समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो ।