नवराज आचार्य, काठमाडाैँ । देशभर आज नयाँ वर्ष २०८२ मनाइँदैछ । हरेक वर्ष आउँछ यो नयाँ वर्ष प्रत्येक पटक नयाँ उत्साह र उमङ्ग बोकेर । मैले सधैँ सोचेँ अब त केही नयाँ हुन्छ, नयाँ वर्ष जो आएको छ। वर्षभरि नयाँ लुगा लगाउन पाउने र नयाँ परिकार खान पाइने विश्वासले सानैदेखि मलाई नयाँ लुगा लाउनुपर्थ्यो, नयाँ परिकार पनि खानु पर्थ्यो।

तर, मैले सानोमा बुझिनँ, नयाँ वर्ष त एक हप्तामा नै बरानो हुन्छ भनेर अनि पर्खिनुपर्छ अर्को नयाँ वर्ष । अहिले बुझेँ - आवरण नयाँ होइन, खोजेको त आचरण नयाँ रहेछ । यदि आवरण र आचरण बिचको भिन्नता हामीलाई थाह भइदिए समग्र जीवन अति सुन्दर हुन्छ । जीवनसँगको हाम्रो लडाई आवरण 'सुन्दर' गर्न तिर नै छ। यदि आचरण 'सुन्दर' गर्न थोरै मात्र प्रयास भए जीवन सङ्घर्ष नभएर उत्सव होला ।
आज र भोलि नयाँ वर्षको शुभकामना आदान-प्रदान व्यापक रूपमा हुनेछ । अझ, सामाजिक सञ्जालले 'क्रान्ति' नै ल्याएको छ यो क्षेत्रमा । सुन्दर पक्ष हो यो सामाजिक सञ्जालको । चिनेको नचिनेकोलाई पनि शुभकामना बाट्न पाउनु । तर, 'कपि-पेस्ट' शुभकामनाहरू कति शुभ मन र शुभ विचारले प्रेषित हुँदैछन्? कहिले यो प्रश्न गर्नु भएको छ? तपाईँले पठाएको शुभकामनामा तपाईँको आफ्नो शुभ सोच कति छ? या त त्यो मात्र 'रुटिन' थियो?
शुभ सोच बिनाको कामना के साँचो कामना होला र ? अर्का प्रति साँचो अर्थमा शुभ चिताएर दिइएको कामनाको नै मूल्य छ । फगत प्रक्रिया पुर्याउनका लागि प्रेषित सन्देशहरू बिना प्राणका शरीर हुन् । शब्द मात्र थुपारिएका- मुर्झाएका फूल जस्ता । नयाँ वर्षको सुरुवात सायद 'सही' शुभकामनाबाट हुनुपर्ने थियो कि? त्यसै पनि आधुनिक विज्ञान र प्राचीन अध्यात्मले भूत भविष्य र बर्तमानलाई एक भ्रम मानेको छ। तपाईँ हामीले मनाउने 'नयाँ वर्ष' आखिरमा पात्रोमा भएको परिवर्तनको प्रतिबिम्ब न हो ।
पात्रो मात्र फेरिरहने त क्रम सदियौंदेखि छ। कतै नयाँ वर्षको सन्देश पात्रो होइन, पात्र परिवर्तन गर्नुपर्छ भन्ने पो हो कि? सायद समयलाई नयाँ पात्र चाहिएको होला ? हिजोको भन्दा आज बदलिएको असल र गुणी पात्र ।
उत्तम प्रण जब जीवनको प्राण बन्छ, तब फेरिन्छ आचरण । पात्रोमा नयाँ वर्ष देखिएला, तर आचरण परिवर्तन नभए सम्म पात्रमा नयाँ वर्ष कहिल्यै आउनेछैन। अन्तमा सम्पूर्णमा नयाँ वर्ष वि.सं २०८२को हार्दिक शुभकामना।
अत्यन्तै भावपूर्ण कविता ❤️