एसईई उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान, शैक्षिक क्षेत्र सुधारमा नगरप्रमुखको जोड

दक्ष खबर 7516+ समाचार ( )
२३ आषाढ २०८१, आइतबार

काठमाडौँ । उच्च शिक्षाका लागि विद्यार्थी विदेशिनु उचित नभएको गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार  रिसालले बताउनुभएको छ । 

मुलुककै प्रतिष्ठित शैक्षिक केन्द्रको रुपमा स्थापित काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले आयोजना गरेको  २०८० सालको एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान कार्यक्रममा उहाँले दैनिक रूपमा सयौँ विद्यार्थी बाहिरिनु शोभनीय नभएको बताउनुभयो । 

समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा हुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको धारणा राख्नुभयो । 

सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरूको स्तरोन्नतिका लागि गोकर्णेश्वर नगरपालिका कटिबद्ध रहेको बताउँदै नगर प्रमुख रिसालले सबै विद्यालयले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

नगर प्रमुख रिसालले शिक्षा क्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै योगदानको अपेक्षा गर्नुभयो । प्र्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले समग्र मुलुकमा एसईईको नतिजा खस्किँदा पनि अरुणिमाले उत्कृष्ट नतिजा ल्याएको बताउनुभयो । 

अरुणिमा कलेजका प्रमुख केशव जोशीले मध्यम शुल्कमा कलेजले सबै प्रमुख संकायमा गुणस्तरीय शिक्षा प्रदान गरिररहेको जानकारी दिनुभयो । 

प्रतिष्ठान संचालक समितिका सदस्य बटुप्रसाद न्यौपाने, अरुणिमा एल्मुनाई एशोसिएसनका अध्यक्ष जीतेन्द्र श्रेष्ठ लगायतले गुणस्तरीय शिक्षा लिन चाहने जो कोहीका लागि अरुणिमा उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यार्थीहरू, अभिभावक तथा अन्य अतिथिहरूलाई अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गर्नुभएको थियो । 

प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा मा.वि. बौद्धका ११० जना, नव अरुणिमा मा.वि. आरुबारीका ३९ जना र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालका ४३ जना विद्यार्थीहरू गरी जम्मा १९२ जना विद्यार्थीहरू सम्मानित भएका थिए । सम्मानित विद्यार्थीहरूलाई खादा लगाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो । 


त्यस्तै परीक्षामा सम्मिलित भई उत्कृष्ट नतिजा हासिल गर्ने अरुणिमा मा.वि., बौद्धका प्रतीक तामाङ र अभि कुमार सुवेदी, नव अरुणिमा मा.वि. आरुबारीका दिव्यांशु रिसाल एवम् अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका कृष्मा थापालाई नगद पुरस्कार सहित अभिनन्दन गरिएको थियो ।

 समारोहमा विद्यार्थीहरूले आर्कषक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कलाकार सुबोध गौतमको हास्य प्रस्तुतिले समारोह थप रोचक बन्न पुगेको थियो । समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ६ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार