काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको २ महिनाभित्र ११४ वटा साना ठुला मन्दिरको सरसफाइ गरेको छ । गएको आर्थिक वर्षभरिमा ३३३ वटा साना ठुला मन्दिर सरसफाइ गरिएको हो ।
महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत मन्दिरहरुको सरसफाइ भएको हो । सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, भित्ता, परिक्रमा मार्ग, बार तथा अन्य फोहर भएका र मैला देखिएका ठाउँहरुको सफाइ गर्ने गरिएको छ । दाची अप्पा (इट्टा) मा सिलिकन र ड्युरासिल रङ लगाइएको छ ।
मन्दिरहरुमा पातपतिङ्गर, धुलो, पूजाजन्य सामग्री, दियो र पालाको खिया, तेलको दाग, रङ अविरका दागहरू सरसफाइ गरिएको हो । यसलाई सरसफाई, पिताम्बर, झाडु, कुचो, तार ब्रस, तार जाली, पुछ्ने कपडाको प्रयोग गरेर सफा गरिएको थियो । महानगरपालिकाले जनशक्तिको सुरक्षाका लागि पञ्जा, मास्कलगायत साधन उपलब्ध गराएको छ ।
सरसफाईका लागि १० जना सुपरभाइजर र १०० जना सरसफाइकर्मीले दैनिक काम गरिरहनुभएको बताइएको छ । सुपरभाइजरलाई वडा कार्यालयसँग समन्वय गरेर स्थान पहिचान गर्ने तथा सरसफाइ गराउने जिम्मेवारी दिइएको छ ।
सरसफाइ कार्यमा ४० जना अपाङ्गता भएका व्यक्तिहरु (बोल्न सुन्न नसक्ने) र ६० जना सिसडोलबासी रहेका छन् । १० जना सबइञ्जिनियरलाई सुपरभाइजरले गराएको कामको सुपरीवेक्षण गर्ने जिम्मेवारी दिइएको छ ।
मन्दिर रङरोगनको लागि ५ जना पेन्टर र यो कामको सुपरीवेक्षणका लागि १ जना इन्जिनियर खटाइएको छ । सरसफाइका सामानको भण्डारण र लगत राख्न १ जना कार्यालय सहयोगी राखिएको छ । यी सबै जनशक्ति श्रम वैङ्कबाट लिइएको हो । हरेक दिन ८ घण्टा गरिने सफाइ कार्य विहान ७ बजेबाट सुरु हुन्छ ।
हिति (ढुङ्गेधारा) सफाइ
गत २ महिनामा १११ वटा हिति, १० वटा कुवा र ६ वटा पोखरी सरसफाइ गरिएको छ । यसै गरी ४ वटा पोखरीको पुनरुत्थान र सौन्दर्यीकरण गरिएको छ । पुनरुत्थान र सौन्दर्यीकरणका लागि करिब ३२ लाख रुपैयाँ खर्च भएको छ ।
आ. व. २०८१/०८१ को असार मसान्तसम्ममा १२ वटा हिति पुनःनिर्माणका लागि सम्झौता भएको छ । गंगाहिटि, बाँहिटि, भैरव हिटि, बाँकोट हिटि, कुटिबहिल पोखरी (लाम पोखरी) मा फल्चा निर्माण, गल्को पाखामा ढुंगेधारा, कालधारा, पकनाजोल, गणेशस्थान ढुङ्गेधारा र कुवा बनाउने कामका लागि सम्झौता भएको हो । यस्तै नक्साल, नैऋत्य, ओमनगरसहितका हिटि तथा पोखरीको मर्मतसम्भार तथा पुनःनिर्माणको कामका लागि सम्झौता भएको हो । यी ढुङ्गेधारा पोखरीहरु वडा नं. १, ४, ६, ७, १०, १५, १६, २६, ३१ वडामा छन् ।
८ ठाउँका ढुङ्गेधाराहरु मर्मत तथा पुनःनिर्माणका लागि सम्झौता चरणमा छन् ।
वडा नं. ७ चाबहिलको गणेश ढुङ्गेधारा, वडा नं २ को धोबीचौर नानीगञ्जमा रहेको ढुङ्गेधारा, वडा नं. ९ को सिनामङ्गलसहितका स्थानमा रहेका ढुङ्गेधारा पुनःनिर्माण तथा पुनरुत्थानको तयारी गरिएको हो ।
यस्तै वडा नं. १५ का विभिन्न स्थानमा रहेको, वडा नं. १६ को बालाजु, बनस्थली, जनजागृति लगायत स्थानका, वडा नं. १८ को ताम्सिपाखा, वडा नं. ३० सहितका स्थानहरुमा ढुङ्गेधारा पुनःनिर्माण तथा पुनरुत्थान हुनेछन् । यसका लागि सम्झौता तयारी चरणमा छ ।
यससँगै नापी नक्सा तथा मालपोत श्रेस्ताबाट धाराको क्षेत्रफल एकिन गरेर साविक क्षेत्रफलबाट मिचिएको जग्गा फिर्ता लिने प्रयास भइरहेको छ । यो काम वडा नं. १ बाट थालिएको छ । यस्तै धाराको निकासा खोज्ने, निकासको संरचना बनाउने योजना अगाडि बढाइएको छ ।
ऐतिहासिक लुहिटी (सुन्धारा) केन्द्र सरकारको कार्यक्रम अन्तर्गत परेको कारण काठमाडौँ महानगरपालिकाले प्रक्रिया अगाडि बढाउन नसकिएको बताइएको छ ।