काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई नाराभन्दा पनि स्पष्ट दृष्टिकोण, ठोस योजना र कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको विकासमा सबैभन्दा ठूलो समस्या घोषणाभन्दा पनि कार्यान्वयनको कमजोरी भएको उल्लेख गरेका छन्।
उनका अनुसार देशमा विकासका धेरै योजना घोषणा भए पनि कार्यान्वयन प्रभावकारी हुन नसक्दा अपेक्षित परिणाम आउन सकेको छैन। एउटा पुल बनाउन वर्षौँ लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय लिन नसक्ने प्रवृत्तिले विकास प्रक्रिया अवरुद्ध भएको उनले बताएका छन्।
घिसिङले हाल सम्पन्न निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा पनि भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरका रूपमा व्याख्या गरेका छन्। उनले नेपालले विगतमा १८ घण्टासम्मको लोडसेडिङ भोगेको स्मरण गर्दै दृढ निर्णय र नेतृत्वले त्यो अवस्था अन्त्य गर्न सम्भव भएको उदाहरण दिएका छन्।
उनका अनुसार नेपाल विद्युत प्राधिकरणको सुधारसँगै देशमा विद्युत सेवा विस्तार भएको र अहिले करिब ९९ प्रतिशत घरधुरीमा विद्युत पुगेको अवस्था सिर्जना भएको छ। यसले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढ्ने आधार तयार गरेको उनले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको समस्या समाधान, मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन, तातोपानी नाका खुलाउने तथा अलपत्र परेका विकास आयोजनाका ठेक्का तोड्ने काम अघि बढाइएको पनि उनले उल्लेख गरेका छन्।
घिसिङले पछिल्लो निर्वाचनमा परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले ठूलो जनमत दिएको भन्दै सुशासन कायम गर्न उनीहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै सरकारका सकारात्मक काममा सहयोग र गलत काममा उज्यालो नेपाल पार्टीले रचनात्मक रूपमा खबरदारी गर्ने उनको भनाइ छ।
चुनावी परिणामलाई अन्तिम निष्कर्षका रूपमा नलिई आगामी दिनमा पनि उज्यालो नेपाल निर्माणको अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। साथै जनताबाट प्राप्त विश्वास, समर्थन र सद्भाव आफ्नो लागि प्रेरणा बनेको उनले बताएका छन्।