काठमाडौँ । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।
दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन् ।
पब्लिक रिभ्यू र समीक्षक दुवैको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् । निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।