काठमाडौँ । अरुणिमा परोपकार प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभामा वक्ताहरूले प्रतिष्ठान मार्फत भइरहेको सामाजिक कामको प्रशंसा गरेका छन् ।

अरुणिमा मावि बौद्धको सभाहलमा सम्पन्न साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सामाजिक अभियन्ता उज्वल विक्रम थापाले प्रतिष्ठानले सञ्चालन गरेका कायक्रमहरुले अवसरबाट वञ्चित तथा जेहेन्दार विद्यार्थीहरूलाई लाभ मिलेको बताउनुभयो ।
जलन पीडितहरूको उद्धारका लागि अहोरात्र खटिदै आउनु भएका थापाले जनचेतनाको अभावमा जलनको समस्या थप विकराल बन्दै गएको बताउनुभयो । साधारण सभामा वरिष्ठ प्लाष्टिक सर्जन डा. शङ्करमान राई, प्रथिष्ठानका आजीवन सदस्य शोभा खनाल, अक्षय कोष योगदानकर्ताहरु महेशप्रसाद पराजुली, गोपालप्रसाद बराल, आदर्शजंग पाण्डे तथा सृजना बस्नेतलाई अभिनन्दन गरिएको थियो ।
अभिनन्दित व्यक्तित्वका तर्फबाट शोभा खनालले प्रतिष्ठानका मुल तथा सहायक अक्षयकोषहरू मार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरेकोमा प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । प्रतिष्ठानका सल्लाहकार सदस्य वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यले प्रतिष्ठानको कार्यप्रगतिको उच्च मूल्याङ्कन गर्नुभयो ।
प्रतिष्ठानका आजीवन सदस्य कृष्ण कुमारी के.सी.ले प्रतष्ठानका कार्यहरूबाट गर्वबोध भएको बताउनुभयो अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले संस्थाको आवश्यकता बोध, स्थापना तथा विकाससँग सम्बन्धित पक्षबारे जानकारी दिनुभयो ।
अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र विपत्तिमा परेका मानिसको उद्धारमा योगदान पु-याउने परोपकारी एवम् लोककल्याणकारी भूमिका सहित अरुणिमा परोपकार प्रतिष्ठान गठन भएको कार्यक्रममा जानकारी दिइयो । प्रतिष्ठानमा हाल एउटा मूल अक्षयकोष र ११ वटा सहायक अक्षयकोषहरुको स्थापना भइसकेको छ ।
प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडालको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रतिष्ठानका उपाध्यक्ष बटुप्रसाद न्यौपाने, सचिव जितेन्द्र श्रेष्ठ लगायतले प्रतिष्ठानका विविध पक्षबारे प्रकाश पार्नु भएको थियो । प्रतिष्ठानमा २ सय १७ जना आजीवन सदस्य रहेका छन् । प्रतिष्ठानमा मूल अक्षय कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त गरी रु. ३० लाख ८८ हजार ६ सय ४ रुपैया रहेको छ ।