काठमाडौँ। स्वीट्जरल्यान्डका प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
नियुक्तिपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेनाले नेपाली टोलीको जिम्मेवारी पाउन पाएकोमा आफू अत्यन्त खुसी भएको बताए। उनले आफ्नो प्रमुख लक्ष्य नेपाली राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने रहेको स्पष्ट पारे।
एरेनाले आफू सन् २०२६ सम्म टोलीको जिम्मेवारीमा रहने बताउँदै विगतका कमजोरी दोहोरिन नदिई नयाँ रणनीतिसहित अघि बढ्ने बताए। उनका अनुसार नेपाली खेलाडीहरू अत्यन्त क्षमतावान छन् र उचित प्रशिक्षण तथा रणनीतिमार्फत टोलीलाई अझ प्रतिस्पर्धी बनाउने प्रयास गरिनेछ।
प्रशिक्षक एरेनाले टोलीको खेलस्तर सुधार गर्न रणनीतिक तथा प्राविधिक सुधार आफ्नो प्राथमिकतामा रहने उल्लेख गरे। उनले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट औपचारिक रूपमा नियुक्तिपत्र प्राप्त गरेका हुन्।