काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले पशुपति क्षेत्रमा २०७९ सालमा तयार पारिएको गुरूयोजना अनुरूप काम अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषको ३८औँ वार्षिकोत्सबका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले २०७६ सालमा पशुपति क्षेत्र विकास कोर्षले एकलौटी रूपमा ल्याएको गुरूयोजनाको स्थानीयबाट विरोध सहित खारेजीको माग भएपछि त्यतिबेलाको गुरूयोजनालाई स्थगन गरेर २०७९ सालमा स्थानीयसहित जनप्रतिनिधिहरूको पहलमा पुनर्लेखन सहित तयार पारिएको गुरूयोजना अनुरूप काम हुनुपर्ने बताउनुभएको हो ।
उहाँले, पशुपति क्षेत्रको विकास निर्माणमा भईरहेको कंक्रिटको प्रयोगले गर्दा कोर्षले यस क्षेत्रको अस्तित्व निमिट्यान्न गर्नतिर अग्रसर भएको जस्तो देखिएको बताउनुभयो । वडाअध्यक्ष संगतले, पशुपतिनाथ क्षेत्रलाई परम्परा, रितिस्थित, बनावट, पुनःनिर्माण लगायतका विभिन्न पक्षहरूलाई ध्यानमा राख्दै यस क्षेत्रको अस्तित्व कायम राख्न विकास कोर्षलाई आग्रह गर्नुभयो ।
उहाँले, पशुपति क्षेत्रबाट गुरूयोजनाको नाममा स्थानीयहरूलाई लखेट्ने, दु:ख दिने तथा स्थानान्तरण जस्ता बिभिन्न कार्यहरू कोर्षबाट भएको र स्थानीयलाई महत्त्वमा राखेर कोर्षले कुनै पनि काम नगरेको उहाँले बताउनुभयो ।
वडाअध्यक्ष संगतले यस क्षेत्रमा रहेका पुरातात्त्विक सम्पदाहरूको पुनः निर्माण तिव्रताका साथ भईरहेको बताउँदै ब्रह्मा मन्दिरको पुनः निर्माणको क्रममा रहेको र पुरातत्त्वको डिजि परिवर्तन भई नयाँ आउनुभएकोले यहाँको फाइल अगाडि नबढेको र समन्वय मार्फत काम अगाडि बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै,पाशुपत क्षेत्रमा रहेका पाटी पौवाहरूको संरक्षण गर्नुपर्ने बताउँँदै विकास कोर्षले कुनै पनि पाटी पौवालाई ब्यक्तिको नाममा दिन नहुने बताउनुभयो । उहाँले यस क्षेत्रमा रहेको धर्मशालाहरूलाई संरक्षण गर्नुपर्ने ठाउँमा कोर्षले व्यापारीकरण गर्न नहुने बताउनुभयो ।
त्यस्तै, वडाअध्यक्ष संगतले पाशुपत क्षेत्रमा पुनः निर्माण एवं निर्माणका कामहरू गर्दा कुनै पनि तहबाट नक्सा पास गर्न नपर्ने ? भन्दै प्रश्न गर्नुभयो । विकास कोषले यस क्षेत्रको नम्स मिचेर कंक्रिटको प्रयोगबाट विभिन्न भवनहरू निर्माण गरिरहेको प्रति उहाँले चासो ब्यक्त गर्नुभयो ।