काठमाडौँ । मिथिला एक साँस्कृतिक वैशिष्ट्यले भरिपूर्ण क्षेत्र हो । सभ्यताको विकाससँगै यस क्षेत्रमा मानव बसोबास, संस्कृति र सभ्यताको सुदीर्घ ऐतिहासिक पृष्ठभूमि रहेको छ । प्राचीन कालमा यसलाई विदेह राज्य भनेर चिनिन्थ्यो ।
राजा जनक, सीता, अष्टावक्र, याज्ञबल्क्य, गार्गी, मैत्रेयी लगायतका धेरै मन्त्रद्रष्टा ऋषि, महर्षिहरूको प्रादुर्भाव र ज्ञानको उत्कर्षले विदेहको स्थान सदैव उच्च रहेको छ । पहिलो पटक सतपथ ब्राह्मणले मिथिला क्षेत्रको उल्लेख गरेको भेटिन्छ ।
ब्राह्मणपछिका संस्कृतका अन्य उपनिषद्, स्मृति, पुराण एवं साहित्यहरूका साथै बौद्ध र जैन साहित्यले पनि यसलाई पवित्र स्थान, धार्मिक एवं साँस्कृतिक विरासतले युक्त छुट्टै राज्यको रूपमा वर्णन गरेको पाइन्छ । प्राचीन कालमा यो राज्य यज्ञक्षेत्र, ज्ञानक्षेत्र, मुक्तिक्षेत्र, विदेह र तिरभुक्ति अर्थात् तिरहुत नामले पनि प्रसिद्ध थियो ।
अहिले पनि मिथिला वर्षभरि कुनै न कुनै साँस्कृतिक माहोलमा झुमीरहन्छ, भिजीरहन्छ । सतुआइन, जुडशीतल, अक्षयतृतीया, परशुरामजयन्ती, गङ्गा दशहरा, गुरुपूर्णिमा,
रक्षाबन्धन(राखी), झुलनोत्सव, मधुश्रावणी, जन्माष्टमी, तीज, चौरचन, ऋषिपञ्चमी, अनन्त चतुर्दशी, विश्वकर्मापूजा, जितिया, दुर्गापूजा, कोजाग्रत पूर्णिमा, धन्तेरस, दीपावली, गोबर्धनपूजा, छठ, धातृनवमी, हरिप्रबोधिनी एकादशी, देवदीपावली (कार्तिकपूर्णिमा), विवाहपञ्चमी, नरकनिवारण चतुर्दशी, वसन्तपञ्चमी, परिक्रम मेला (१५ दिने), होली, रामनवमी, चैते छठ लगायतका सदियौँ पर्वहरू मिथिलाका सम्पदा हुन् । यिनै पर्वहरूले मिथिलाको वास्तविकतालाई संरक्षित गरेका छन् ।
भाद्र शुक्ल चौथीलाई मिथिला क्षेत्रमा चौठचनद्र वा चौरचन पर्वका रूपमा मनाउँने परम्परा छ । चौठचन्द्र शब्दलाई विचार गर्दा यो चौथी+चन्द्रबाट बनेको देखिन्छ । भाद्र शुक्ल चौथीको साँझ चन्द्रमाको पूजा गरेर यो पर्व मनाउँने गरिन्छ । यो पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व हो।
मिथिला क्षेत्रमा खासगरी मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिन्छ । यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको जन विश्वास छ । उनी ज्योतिर्विद् भएकाले चन्द्रमाको पूजाको परम्परा प्रारम्भ गरेको श्वास गरिन्छ ।
यस पर्वमा घरमूली महिला सदस्य दिनभर उपवास बस्छन् । सूर्यास्तपछि गाईको गोबरले आफ्नो घरको आँगन लिपेर आँगनको बीचमा चतुष्कोण मण्डल निर्माण गरिन्छ । त्यस यज्ञस्थलमा दीप प्रज्वलन गर्दै चन्द्रमाको पूजा गरि दूधको अर्घ्य दिइन्छ । हातमा फल र मिष्ठान्न लिएर आफ्नो भाकल सम्झिँदै
मगाङ्कः रोहिणीनाथ शम्भोः शिरसि भूषणः ।
व्रतं सम्पूर्णतां यातु सौभाग्यं च प्रयच्छ मे ॥
भनेर चन्द्रमासंग प्रार्थना गरिन्छ । यस पर्वमा विशेष गरी दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार, खाजा (पिरुकिया), खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य विविध मिष्ठान्नहरू तयार गरिन्छ ।
यसरी तयार गरेको फलफूल, मिष्टान्न परिकार, वस्त्र, आभूषण आदि वस्तुहरू चन्द्रमालाई समर्पण गरिन्छ । अन्त्यमा इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाइन्छ ।
यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिले मनाइने गरेको पाइन्छ । मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ। परिवारमा कसैलाई कुनै कष्ट वा आपत्ति आइपरेको बेला यो पर्वमा पूजा गर्ने भाकल गरिन्छ । कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ति गरिन्छ। यस्तो भाकल पाँच दश वर्षका लागि वा आजीवनको लागि समेत गर्ने चलन रहेको जानकारहरू बताउँछन् ।
यसप्रकार चौरचनपर्वको लागि यति बेला मिथिलाका चोक र गल्लीहरूमा मेला लागीरहेको छ । आवश्यक पूजा सामग्री र माटाका भाँडाहरू किनबेचको क्रम बढेको छ भने चोक चोकमा केराका डङ्गुर लागेका छन् । लेखक घिमिरे यालना विद्यापीठ, मटिहानी, महोत्तरीमा अध्यापनरत रहेका छन् ।