तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ : प्रधानमन्त्री
५ कार्तिक २०८२, मङ्गलबार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै पक्षका चासो र चिन्तालाई सम्बोधन गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
आगामी निर्वाचनको वातावरण बनाउने प्रयास स्वरुप अघिल्लो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको संवादपछि उहाँले निर्वाचनको आवश्यकतामा कसैको विमति नरहेको स्पष्ट गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै पक्षलाई आ–आफनो ठाउँबाट निर्वाचनमा जुट्न अपिल समेत गर्नुभएको छ ।
उक्त संवादबारे प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभन्द्र खनालले भन्नुभयो, “छलफलमा सबैले आ–आफनो तर्फबाट खुलेर कुरा राख्नुभएको छ । चासोहरु व्यक्त भएका छन् । मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ ।”
उहाँकाअनुसार, प्रधानमन्त्री कार्कीले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरुको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको थियो ।
संवादमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहन श्रेष्ठले सरकारका तर्फबाट निर्वाचनबारेमा दलहरुलाई आश्वस्त तुल्याउने, विश्वास जित्ने र नजिकको दुरीमा रहने प्रयासका लागि सबै विषयमा खुलेर छलफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “यो सरकार गठनको औचित्य, कार्यदेश, सुरुवाती दिनका कठिनाइका विषयमा खुलेर छलफल भयो । दलहरुका तर्फबाट निर्वाचन र सुरक्षा प्रत्याभूतिसहित आ–आफना एजेण्डा प्रस्तुत गरियो । सरकारले बनाउनुपर्ने वातावरण र निर्वाचनको सुनिश्चिताका कुरा भए ।”
राप्रपा निर्वाचनबाट पर नरहेको स्पष्ट पारेको जनाउँदै नेता श्रेष्ठले जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य, सुशासन प्रवद्र्धन र शासकीय स्वरुपबारे सर्वपक्षीय छलफल गरी संविधान संशोधन आवश्यक रहेको दलको धारणा प्रस्तुत गरेको बताउनुभयो ।