काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाका उम्मेदवार युवराज दुलाल “शरद” विकासको निरन्तरता, स्थायित्व र परिणाममुखी कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्। औपचारिक आमसभाभन्दा प्रत्यक्ष भेटघाटलाई प्रभावकारी माध्यम मान्दै दुलाल अहिले टोल–टोलमा पुगेर मतदातासँग संवाद गरिरहेका छन्।
साना अन्तरक्रियात्मक कार्यक्रममार्फत स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले आफ्ना योजनाबारे स्पष्ट धारणा राखिरहेका छन्। “जनताको विश्वास जित्ने आधार प्रत्यक्ष संवाद नै हो,” उनले हालैको एक कार्यक्रममा भने, “घोषणापत्रमा सीमित नभई कामको निरन्तरता र परिणाम देखिनुपर्छ।” दुलालले यसअघि सुरु गरिएका पूर्वाधार योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी ग्रामीण सडक स्तरोन्नति, खानेपानी आयोजनाको विस्तार, सिँचाइ व्यवस्थापन तथा कृषि उत्पादनको बजार सुनिश्चिततालाई उनले प्राथमिकतामा राखेका छन्। कृषकलाई उत्पादनमै सीमित नभई बजार र मूल्य सुनिश्चिततासम्म जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ।
युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवर्द्धन गर्ने विशेष कार्यक्रम ल्याउने तयारीसमेत उनले सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीलाई मात्र विकल्प मान्ने प्रवृत्तिमा परिवर्तन ल्याउँदै स्थानीय स्रोत र सीपको उपयोगमार्फत रोजगार सिर्जना गर्ने उनको योजना छ। “युवालाई अवसर दिन सके गाउँमै सम्भावना छ,” उनले भने। उनले अघि सारेको “विकासको बाकस” अवधारणालाई यसपटक थप परिमार्जित र विस्तारित ढाँचामा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
दीर्घकालीन योजना, पारदर्शी बजेट व्यवस्थापन र नियमित अनुगमनमार्फत परिणाममुखी विकासलाई सुनिश्चित गरिने दाबी उनको छ। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले रोजगारी, कृषि उपजको उचित मूल्य, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा मुख्य प्राथमिकता भएको बताएका छन्। कतिपयले अधुरा योजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। दुलालले ती सुझावलाई आफ्नो नीतिगत प्राथमिकतामा समेट्ने आश्वासन दिएका छन्।
प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेका अनुभवलाई संघीय स्तरमा उपयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने उनको लक्ष्य छ। समर्थकहरू अनुभव, निरन्तरता र कार्यान्वयन क्षमताकै आधारमा मतदाताको विश्वास दोहोरिने दाबी गर्छन्। यता, क्षेत्र नम्बर २ मा अन्य उम्मेदवारहरू पनि सक्रिय बन्दै जाँदा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। एजेन्डा केन्द्रित बहस, विकासको स्पष्ट खाका र नेतृत्वको विश्वसनीयता आगामी निर्वाचनको मुख्य आधार बन्ने देखिएको छ।
आगामी निर्वाचनले सिन्धुपाल्चोक–२ को विकास यात्रालाई कस्तो दिशा दिनेछ भन्ने प्रश्न मतदातामाझ प्रमुख चासोको विषय बनेको छ। चुनावी माहोल चर्किंदै जाँदा मतदाताको निर्णयले यस क्षेत्रको राजनीतिक तथा विकासीय भविष्य निर्धारण गर्नेछ।