काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघले संविधान अनुसार शिक्षा पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने लगायत १५ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।
संघको बाग्मती प्रदेशको दोस्रो जिल्ला अधिवेशनले शिक्षाका सवालमा विभिन्न १५ बुँदे घोषणापत्र जारी गरेको हो । ‘संविधानको भाग ३ धारा ३१ बमोजिम शिक्षा पूर्ण रुपमा निःशुल्क, वास्तविक र ब्यवहारिक गराउनका लागि माग गर्दछौं ’ घोषणापत्रमा भनिएको छ ।
संस्थागत विद्यालयहरुमा आफूखुशी अनेक शीर्षक कायम गरी लिइने शुल्क बन्द गर्न पनि संघले माग गरेको छ । यस्तै राज्यको शिक्षा ऐनअनुसार घोषित १० प्रतिशत छात्रवृत्ति गर्ने गराउने विषयमा स्थानीय, प्रदेश तथा संघीय सरकारसमक्ष संघले ध्यानाकर्षण गराएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयहरुका ब्यवस्थापन समितिमा वास्तविक अभिभावकहरुको प्रतिनिधित्व गर्न सरकार तथा सम्बन्धित स्थानीय तहहरुसँग संघले माग गरेको छ । नेपाल अभिभावक संघले तयार गरी सार्वजनिक गरिएको अभिभावक गानलाई मुुलुकभरका विद्यालय महाविद्यालयहरुमा लागू गर्न पनि माग गरिएको छ ।