काठमाडौँ । नेपाल मदिरा व्यवसायी महासंघको १९औँ वार्षिक साधारण सभा सिन्धुपाल्चोक जिल्लाको सुकुटेस्थित स्यान्डी बिच रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ ।
आइतवार सम्पन्न भएको सभा महासंघका अध्यक्ष सोनाम शेर्पाको सभापतित्वमा भएको थियो । यसैगरी, मदिरा उत्पादक संघका पूर्व अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति रवि केसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा महासंघका पूर्व अध्यक्ष सन्तोष पाण्डे, नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा महासंघका पूर्व अध्यक्ष राम श्रेष्ठ, महासंघका उपाध्यक्ष मदन गौतम, सल्लाहकारहरू विष्णुकुमार श्रेष्ठ, गिरिराज पौडेल, तारानाथ ढुङ्गाना, दिनेश श्रेष्ठ र निरु थापा लगायतका व्यक्तित्वहरु विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।
त्यसैगरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रतिनिधि जगदीश बुढाथोकी, शारस बेभरेजका प्रतिनिधि चिरञ्जीवी पौडेल, एग्रो थाई फुड्सका म्यानेजर सूर्य श्रेष्ठ, हाइल्याण्ड डिस्टिलरी प्रा.लि.का सरोजपुरी, महासंघका उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ, खड्क बहादुर बुढाथोकीलगायत महासंघका केन्द्रीय तथा क्षेत्रगत पदाधिकारीहरू र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व गर्दै महासंघका अध्यक्ष सोनाम शेर्पाले महासंघको १९औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न हुनु सबै सदस्य, सल्लाहकार तथा सहयोगी निकायहरूको संयुक्त प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले मदिरा व्यवसायलाई सामाजिक उत्तरदायित्वसहित, कानुनी दायराभित्र रहेर मर्यादित रूपमा सञ्चालन गर्न महासंघ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, “मदिरा व्यवसायलाई केवल व्यापारको रूपमा मात्र नभई राज्यको राजस्व, रोजगारी र औद्योगिक विकाससँग जोडिएको क्षेत्रका रूपमा बुझ्न आवश्यक छ । व्यवसायीहरूको समस्या समाधान, नीति–नियम सुधार र एकताको माध्यमबाट महासंघलाई अझ सशक्त बनाउँदै लैजाने हाम्रो लक्ष्य हो ।” उहाँले आगामी दिनमा संघीय संरचनाअनुसार प्रदेश तथा जिल्ला स्तरमा संगठनलाई थप बलियो बनाइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि तथा मदिरा उत्पादक संघका पूर्व अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति रवि केसीले महासंघले स्थापनाकालदेखि नै व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले मदिरा व्यवसायलाई नकारात्मक दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
केसीले भन्नुभयो, “मदिरा व्यवसाय कानुनअनुसार सञ्चालन हुने वैध व्यवसाय हो। यसले राज्यलाई ठूलो मात्रामा राजस्व योगदान गरेको छ। त्यसैले राज्यले पनि व्यवसायीलाई सहजीकरण गर्ने नीति अवलम्बन गर्नुपर्छ।” उहाँले नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्न पारदर्शिता, गुणस्तर र जिम्मेवार व्यवसायिक अभ्यास अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खड्ग बहादुर बुढाथोकीले राख्नु भएको थियो । महासंघका पूर्व अध्यक्षबाट राम श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा महासंघका पूर्व अध्यक्ष सन्तोष पाण्डे, जिल्ला संघको तर्फबाट मदिरा व्यवसायी संघ काठमाडौंका अध्यक्ष रुप तामाङ, प्रदेश महासंघको तर्फबाट कोशी प्रदेशका अध्यक्ष नविन तामाङ, सल्लाहकार मण्डलका तर्फबाट विष्णुकुमार श्रेष्ठ, गोर्खा ब्रुअरी प्रा.ली.का सेल्स डाइरेक्टर काजिमान सुब्बाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा केन्द्रीय महासचिव गोविन्द प्रसाद बरालले तयार गर्नु भएको महासंघको कार्य प्रगति तथा भावी योजनाको प्रस्ताव प्रस्तुत गरिएको थियो भने महासंघका कोषाध्यक्ष रमेश आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । यसैगरि सभाले प्रस्तुत प्रतिवेदनहरु पारित गरेको थियो ।
कार्यक्रमको अवसरमा महासंघले उत्कृष्ठ प्रदेश र जिल्ला संघलाई सम्मान समेत गरेको छ । बाँके जिल्लाका मिम बहादुर सिंह र कोशी प्रदेशका नवीन तामाङलाई उत्कृष्ठ प्रदेश र जिल्ला रूपमा सम्मान गरिएको हो । त्यस्तै, ललितपुर जिल्लाबाट उपेन्द्र लाखेलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको घोषणा गरियो । महासंघको कार्यक्रम सफल बनाउन सहयोग पु-याएको योगदानको कदरस्वरूप मदिरा व्यवसायी संघ काभ्रेपलाञ्चोकका महासचिव निर्दोष पलाञ्चोकेलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम नृत्य, संगीत तथा सहभागीहरूबीच आपसी शुभकामना आदान–प्रदानसहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रम सञ्चालन महासंघका महासचिव गोविन्द प्रसाद बरालले गर्नुभएको थियो ।
महासंघले आगामी दिनमा व्यवसायिक एकता सुदृढ गर्दै नीति निर्माण तहमा थप प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको घोषणा गरिएको थियो ।