किम्फको २१औँ संस्करण सम्पन्र : यी हुन् विजेताहरू...

दक्ष खबर 16456+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण आइतबार सकिएको छ। इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको महोत्सवमा अन्तिम फिल्मका रुपमा निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शन गरियो।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए।

'इकोज अफ चेन्ज' अर्थात् 'परिवर्तनको प्रतिध्वनि' नारा बोकेको किम्फमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्महरु देखाइयो। काठमाडौं महानगरपालिकाको सह–आयोजक रहेको महोत्सवमा समकालीन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैंगिकतालगायत विविधताले भरिएका फिल्म तथा वृत्तचित्र प्रदर्शन भए।

महोत्सवमा नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको अवसर पारेर दुई देशबीच समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन भएको थियो। नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको महोत्सवमा फिल्म प्रदर्शनबाहेक अन्तर्क्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनजस्ता रचनात्मक गतिविधिले महोत्सवलाई रोचक र ज्ञानवद्र्धक बनाउन सघाएको अक्ष्यक्ष रम्यता लिम्बूले बताइन्।

उनले भनिन्, विभिन्न समूहसँग सहकार्य र संयोजन गर्ने उद्देश्यले भएका यस्ता गतिविधिमा चलचित्र निर्माता, चलचित्र प्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थिति रहेकोले यो महोत्सवमा धेरैको अपनत्व रहेको देखिन्छ।

विभिन्न समूहसँग सहकार्य र संयोजन गर्ने क्रममा किम्फमा स्टोरीटेलर्ससँगको सहकार्यमा 'माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज' शीर्षकको प्रस्तुति, अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा 'वुमेन बिहाइन्ड द क्यामेरा' शीर्षकको प्यानल छलफलको आयोजना गरिएको थियो।

च्याम्पियनिङ योङ फिल्ममेकर्स– ब्रिटिस काउन्सिलसँग स्क्रिनिङ, प्यानल छलफल र फिल्म निर्माणसम्बन्धी अन्तर्क्रियात्मक प्रदर्शनी र कथाहरूसँग नेपाली वृत्तचित्रका लागि कट.कथा पिच पनि यस्तै सहकार्यको अभ्यास थियो। साथमा, स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) को सहयोगमा नेपाली आख्यान र गैरआख्यान परियोजनाका लागि एडिट ल्याबजस्ता गतिविधि समेत सञ्चालन गरियो। एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको प्रदर्शनी किम्फ २०२४ को एउटा मुख्य आकर्षण बन्यो।

महोत्सवमा हजारौं दर्शक सहभागी भएको पाँच दिने महोत्सवमा युवा दर्शकको बढी सहभागिता रहँदै आएको छ। महोत्सवमा नेपाल, भुटान, कोरिया, भारतलगायत देशका फिल्ममेकरहरु समेत दर्शकका रुपमा सहभागी थिए।

अन्तर्राष्ट्रिय विधा र नेपाल पानारोमाअन्तर्गत महोत्सवमा प्रतिस्पर्धी फिल्म तथा वृत्तचित्र प्रदर्शन भएका थिए। निर्देशकरनिर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्वीट्जरल्यान्ड) किम्फ २०२४ को निर्णायक निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र,  सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येबाट विजेता छनौट गरे।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर,  उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरियो।

नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपियाँ प्राप्त प्रदान गरियो। यसै गरी दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गर्यो। किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो। आईएएमएफमा २० देशका २८ संस्थाहरू सदस्य छन्।

१. नेपाल पानारोमा

स्पेसल मेन्सन्सः द मोंक एन्ड द रेबेल र हावाम्यान

जोइन्ट विनरः दुबिधा र नेपाली फिक्सन

नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री

स्पेसल मेन्सन्सः रोङफामु र वाग्गिङ टेल

विजेता : धाइ ड्रिम्स

इन्टरनेसनल सर्ट फिक्सन

स्पेसल मेन्सन्सः नथिङ ग्रोज अन्डर द पाइन ट्रि र स्प्लिट इन्ड्स

विजेताः एड्जस्टेमन्ट

इन्टरनेसनल फिचर फिक्सन

अ चाइल्डलेस भिल्लेज

इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ

स्पेसन मेन्सन्सः इटर्नल फ्लेम र फरवार्ड

विजेताः क्लाइम्बिङ फर गोल्ड

फिचर डकुमेन्ट्रीतर्फ

स्पेसल मेन्सन्सः इन टु द हार्ट अफ माउन्टेन, यम्नुस्काः द र्याग्ड एज, क्विनडम र अगेन्स्ट द टाइड

विजेताः रिओ रोजो


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार