अहिले लेक चढ्ने भेडीगोठाला साउन भदौतिर एक÷दुई पटक खर्च लिन गाउँ झर्ने गरे पनि बाँकी समय बुकीमै बिताउने गरेका निसीखोला गाउँपालिका–६ का गोरखबहादुर घर्तीमगरले बताउनुभयो । बुकीमा भएका बेला बिरामी परे मात्रै बेंसी झर्ने गरेको उहाँको भनाइ छ । “आठ-नौ सय भेडाबाख्रा छन्, चार दिन अगाडि जेठानले बुकी लगेर जानुभयो, मलाई अलि सञ्चो थिएन र अहिले बल्ल ठीक भएर खर्च लगेर जाँदैछु, अब असोजमा आउने हो । अब खर्च सिकियो वा दुःख बिमार लाग्यो बने मात्रै बेंसी झर्ने हो”, घर्तीमगरले भन्नुभयो ।
यहाँका किसान लेकबेंसी गरेर हजारौँको सङ्ख्यामा पशुपालन गर्छन् । उनीहरुले आफ्नै बलबुतामा परम्परागत पशुपालन पेसा अँगाल्दै आएका छन् । पछिल्लो समय सडक बनेपछि केही सहज भएको छ तर राज्यले आफूहरुलाई कुनै सहुलियत नदिएको धेरैको गुनासो छ ।
पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का हर्कबहादुर बुढामगरले आफ्नै बलबुतामा सयौँ पशुबस्तु पाले पनि सरकारबाट कुनै सहुलियत नपाएको बताउनुहुन्छ । “पहिले त निकै कष्ट हुन्थ्यो, अहिले सडक बनेपछि केही राहत भएको छ । त्योभन्दा बाहेक सरकारबाट केही पाएका छैनौँ । मध्यपहाडी लोकमार्ग भेडीगोठ नजिकै पर्ने हुँदा यात्रा गर्ने यात्रुले बथानमा आएर भेडा किनेर लैजान्छन्, बाँकी दसँैतिहारमा सहरबजार लिएर आम्दानी गरिरहेका छौँ । यही हाम्रो आम्दानीको स्रोत हो”, उहाँले भन्नुभयो ।
असार लागेपछि बुकी बीसौँ हजार भेडाबाख्राले भरिएको बुढामगरले बताउनुभयो । गाउँबाट बुकी पुग्न करिब चार दिन लाग्ने गरेको उहाँले सुनाउनुभयो । “यो भेडाबाख्राले बुकी ढाकिने सिजन हो, कति छन् गन्नै सकिँदैन । गोठाला पनि धेरै हुन्छन्, कसको बथानमा कति भेडा छन्, त्यो स्वयं गोठालालाई मात्रै थाहा हुन्छ”, बुढामगरले भन्नुभयो, “पोहोरसाल जेठमै बुकी गएको थिएँ, यस वर्ष अलि ढिला पानी परेकाले असार लागेपछि मात्रै माथि उक्लिन थालेका छौँ, अब असोजमा भेडा बेच्न बजार झर्ने हो ।”