काठमाडौं I प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिसहरु टाउको टेकेर हिँडिरहेको टिप्पणी गर्नुभएको छ ।
टाउको टेकेर हेरिदिएपछि अरु सबै मान्छे उल्टो हिँडेको देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भईरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँड्ने काम गरिरहेको जिकिर गर्नुभयो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले किसानको दुधको वक्यौता रकम तिर्नका लागि सरकारले दुग्ध विकास संस्थानलाई ६० करोेड ऋण दिँदा उल्टो संस्थानलाई ऋण बोकाइयो भनेर टाउको टेकेर हिँड्नेहरुले उल्टो कुरा गरिरहेको बताउनु भयो । किसान वक्यौता रकम तिर्नका लागि सरकारले दिएको ६० करोड रुपैयाँलाई पनि दुग्ध विकास संस्थानलाई ऋणको भारी बोकाइयो भनेर कलात्मक ढंगले बेइमानीपूर्ण समाचार दिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाउनु भयो ।
उहाले भन्नुभयो, ‘अस्ती मैले एक ठाउँमा भनेपनि–किसानहरुले दुध बेचेको दुग्ध विकास संस्थानलाई दुध बेचेको पैसा पाएका छैनन् । किसान मर्कामा छन् । मन्त्रीपरिषद्ले ६० करोड रुपैयाँ दुग्ध संस्थानलाई सापटी दिने, ऋण दिने भन्यो । भोली पल्ट एउटा प्रतिष्ठित अखवारमा आयो–किसानलाई दुधको वक्यौता तिर्ने बहानामा हामी किसानलाई पैसा दिँदैछौ बाँकि रहेका पैसा ।
त्यस बहानामा दुग्ध विकास संस्थानलाई ऋण बोकाईयो । होइन कस्तो कलात्मक ढंगले बेइमानीको खेती कसरी हुनसक्दो रहेछ भने नि । एक छिन पढेपछि म ५÷७ मिनेट जति घोत्लिए–क्या गजवको झुटको पनि कति परिमार्जित शैली । दिनुछ किसानलाई दुधको बाँकि रहेको पैसा । त्यस बहानामा हुन्छ । त्यो पैसा तिर्न जसलाई दिइयो । त्यसलाई ऋण बोकाईयो भन्छ । ऋण लगाएको उसले, त्यो तिर्दे भनेपनि ऋण बोकाइयो भन्छ । अनि टाउको टेकेर हेरिदिएपछि अरु सबै मान्छे उल्टो हिँडेको देखिन्छ । अव केही एमालेलाई गलत देखाउन, अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भईरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँडिराखेका छन् ।’
प्रधानमन्त्री ओलीले सरकारलाई अघि बढ्न नदिने काम भईरहेको बताउनु भयो ।