काठमाडाैँ । नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ ।
मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिव ४ हजार किसानसँग सहकार्य गर्दै देशभरका उपभोक्ताहरुलाई सुलभ मूल्यमा धान विक्री गर्दै आएको छ ।
मिलले धान उत्पादक किसानलाई धान भित्र्याउनका लागि आवश्यक उपकरण सहयोग गर्ने र बजारको सुनिश्चितता गरिदिएपछि धानखेतीतर्फ किसानको आकर्षण समेत बढ्दै गएको छ । मोरङका किसान दिव्यराज खतिवडाले आरजु राइस मिलसँग जोडिँदा धेरै सुलभता र सहज भएको बताउनुभयो ।
उहाँले आफू उक्त मिलसँग यान्त्रिकीकरणका लागि जोडिएको भएपनि अहिले उत्पादित धान समेत मिलले नै किन्ने गरेको बताउनु भयो । धान उत्पादनमा सहयोग गर्ने र उत्पादित धानले उचित मूल्य पाएपछि आफूहरुलाई कुनै समस्या नरहेको बताउनु भयो । आरजु राइस मिलले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्ने भएकोले आफूहरु ढुक्क भएर धान खेती गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आरजु राइस मिलसँग जोडिएको चाहीँ यान्त्रिकरणकै लागि हो । किनकि खेती गरिन्छ, हार्वेस्टिङ छैन । जनशक्तिको अलि कमि भयो । त्यसकारण पनि जोडिएको हो । पछि उहाँहरुले मिल स्थापना गरिसकेपछि धान खरिद नि गर्न थाल्नुभयो । एउटा समूहगत रुपमा सहकार्य गरेर अहिलेसम्म आइरहेका छौं ।
उहाँहरुले निःशुल्क रुपमा प्राविधिक सहयोग गर्नुभएको छ । समस्याहरु आयो भनेर भन्यौं भने तुरुन्तै प्राविधिकहरु पठाउने र त्यसको निक्र्यौल गर्ने एउटा भयो । र धान काट्ने हार्वेस्टिङ उहाँहरुले उलब्ध गराउनुभएको थियो । त्यस्तै उहाँले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्नुहुन्छ । योभन्दा कम मूल्यमा जाँदैन है । बजार बढ्यो भने बढाइदिने र र नभएपनि निश्चित मूल्य भन्दा कममा जाँदैन भनेपछि हामी ढुक्क भएर खेतिकिसानी गर्दैछौं । हामी दुई रोपनीमा उहाँहरुसँग मिलेर चैते र असारे धान खेती गर्दै आएका छौं । यसमा सबैभन्दा सबल पक्ष भनेको पेमेन्ट नै । अर्को उपकरणहरुको सुलभता नै हो । राम्रो छ ।’
बाहिर बजारमा धान बेचेको पैसा समेत समयमा नआउने भएको कारण आरजु मिलसँग सहकार्य गरेको उहाँको भनाइ छ । अर्को किसान सोमबहादुर पौडेलले धान खेती गर्दा आवश्यक उपकरणहरु पठाइदिने धान खरिद गर्ने भएको कारण धेरै सहज भएको बताउनु भयो । बजारको समेत चिन्ता नहुँदा व्यवसायिक धान खेती गर्दै आएको उहाँले सुनाउनु भयो । उहाँले मिलले प्रत्येक वर्ष नयाँ प्रजातिको धानको बीउ वितरण गर्दा भने रोग लाग्ने र उत्पादन घट्ने चिन्ता रहेको बताउनु भयो । उहाँले किसानलाई राम्रो सुलभता दिएकै कारण यहाँका किसानहरु सामुहिक धान खेती गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म आरजु राइस मिलसँग विगत चार वर्षदेखि जोडिएको हुँ । उहाँहरुले मिल स्थापना गर्नुभन्दा अगाडि नै हार्वेस्टर मेसिनरहरु ल्याउनुभयो । उहाँहरुसँग हामी जोडिनुको मुख्य उद्देश्य के हो भने वर्षे धान लगाउँदाखेरि आवश्यक उपकरणहरु पठाइदिने र धान खरिद गरिदिने गर्नुहुन्छ । केही समस्या नभएको कारण अहिलेसम्म जोडिराखेका छौं । एउटा समस्या चाहीँ के छ भने उहाँहरुले धान चाहीँ नयाँ नयाँ ल्याउनुहुन्छ । यो पटक पनि बोलाउनुभएको थियो गयौं । नयाँ नयाँ धानकै कुरा राखेपछि त्यसो हुँदा उत्पादन कम हुने र रोग लाग्ने भएको कारण सहकार्य गरिएन । आज किसानको बीचमा जुन छलफल राख्नुभयो । त्यसमा हामी खुशी छौं । हामीले मिलसँग नजोडिकन बाहिर पनि धान बेच्न सकिन्छ । तर बाहिर चाहीँ व्यापारिले पैसा देला कि नदेला भन्ने समस्या हुन्छ । त्यहाँ चेक तुरुन्तै पाउँछ किसानले अहिले राम धान लगाउने विषयमा छलफल चलिराखेको छ । अन्य ठाउँभन्दा राम्रो व्यवस्था भयो भने त समूहगत नै अझै धानखेति गर्न सकिन्छ, गरिन्छ ।’
आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आरजु राइस मिलले धानको आयात घटाउन सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको बताउनु भयो । उहाँले सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना गर्न नसकिने समेत बताउनु भयो । उहाँले धानखेतीमा आत्मनिर्भर बन्न र व्यवसायिक धान खेती गर्नको लागि आरजु राइस मिलले सहकार्य किसानसँग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले अन्य किसानहरुलाई समेत आरजु राइस मिलसँग सहकार्य गर्न आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आरजु राइस मिलले सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको छ । सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना नै गर्न सकिँदैन । नत्र मल्टि इन्टरनेसनलहरु आएर सबै खाएर सक्छन् यहाँ । त्यसकारण हामी आफ्नो खुट्टामा उभिनको लागि भनेर विज्ञहरु सामुदायिक उद्यमशीलता भनेर व्यख्या गरिराखेको छ । सामुदायिक उद्यमशीलताको कन्टेक्समा अब हामी अगाडि बढ्नुप¥यो । अब राइस मिलललाई सहकार्य गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई । मैले यो सबै गर्नुको उद्देश्य अबको हाम्रो पुस्ता पलायन नहोस् भन्ने मात्रै हो । नत्र भने मलाई यहाँनिर आएर यसरी भिड्नुपर्ने जरुरत नै छैन । अगामि पुस्ताको लागि गर्न खोजिरहेका छौं ।’
उहाँले किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन गरिरहेको बताउनु भयो । ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ । किसानका लागि रोपाईंभन्दा अगाडि नै मिलले धानको न्युनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ । न्युज एजेन्सी नेपाल