काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
महानगरपालिकाको नगरसभा १९औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले सुशासन, डिजिटल प्रविधिको उपयोग, कर्मचारी व्यवस्थापन तथा शहरी सुव्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माणमा सहयोग गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको उहाँले जानकारी दिनुभयो । उहाँले नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुन तथा कार्यविस्तृतीकरण प्रतिवेदनअनुसार स्थानीय सरकारका अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने बताउनु भयो ।