जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री

दक्ष खबर 5418+ समाचार ( )
१ वैशाख २०८०, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ ।

पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उहाँले जनताको सम्बन्धलाई थप विस्तार र व्यवस्थित गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजबाट भेटघाटको सुरुआत भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यान्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।” उहाँले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब जनता र कार्यकर्तातिर फर्केर मात्र पार्टी बन्छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति, विचार र संस्कृतिमा गयौँ भने पार्टी बन्न ढिलो पनि हुन्न ।” प्रधानमन्त्री दाहालले जतिसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्नेमा आफूहरुले सङ्कल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भन्नुभयो, “लेखौँ, बोलौँ र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौँ । हामी सबैले आफ्नो भूमिका पूरा ग¥यौँ भने हाम्रो तागत ठूलो छ ।” उहाँले सरकारको नेतृत्व लिएपछि पनि धेरै काम गर्न प्रयास भएको भन्दै केही प्रयास सफल भएको बताउनुभयो । पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी रहेको उहाँको भनाइ छ । सरकारलाई जनताको आशा अपेक्षाअनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोलप्रसाद गजुरेललगायतको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार