काठमाडौँ । तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती गर्न थालेपछि उहाँ यस खेलप्रति आकर्षित हुनु भएको हो ।
जात्रामा पाँच हजार खेलप्रेमीको सहभागिता रहेको थियो । युवादेखि वयस्क र वृद्धवृद्धाले समेत चासोका साथ जात्राबाट मनोरञ्जन लिएका थिए । जात्रामा सहभागी रमेश रानाभाटले भन्नुभयो,“आफूले अहिलेसम्म यस किसिमको खेल खेलेको देखेको थिएन, निकै रमाइलो लाग्यो । अब यो खेललाई पनि सरकारले प्राथमिकता दिनुपर्छ, यस्को संरक्षण गर्नुपर्छ र नेपालले यस खेलमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सफलता पाउन सक्छ ।”
हिजोका दिनमा यो खेल सडकमै खेल्नुपर्ने अवस्था थियो भने आज पार्कमै खेल्न सक्ने अवस्था रहेको अध्यक्ष पहाडीको भनाइ छ । “हिजोका दिनमा सडकमा खेल्न प्रहरीले दिंदैनथे, अभिभावकले पनि नकारात्मक रुपमा लिने गरेका थिए, तर आजको दिनमा विस्तारै सबैलाई बुझाउन सकिएको छ”, उहाँले भन्नुभयो । पछिल्लो समयमा नेपाली स्केट खेलाडीहरु भारतका विभिन्न स्थानमा हुने स्केट प्रतियोगितामा विजयी हुन थालेका छन् । कतिपयले स्केट खेलबाटै आम्दानीको स्रोत पनि बनाउन सुकेका छन् । विस्तारै नेपालमा स्केट खेललाई हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन आउन थालेको छ ।
स्केट खेल प्रतियोगिताका लागि नेपाली खेलाडीहरु जापान, दुवै, थाइल्याण्ड, भारत र इन्डोनेसियालगायतका मुलुकमा पुगिसकेका छन् । सन् २०१६ मा थाइल्याण्डमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगितामा मिलन शाह ठकुरी विजयी हुनुभएको थियो । पहाडीले भन्नुभयो, “हिजोका दिनमा हामी सात दोबोटोको सम्म भागमा खेल्नुपर्ने थियो भने अहिले सडकबाट स्केट पार्कमा छिरिसकेको छ, पछिल्लो जात्रामा भाग लिनका लागि भारतलगायतका देशबाट लामो यात्रा गरेर पनि खेलाडीहरु आएका थिए ।”
सन् २०२० को जापानमा भएको ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाएको सन्दर्भमा नेपालमा पनि स्केट खेललाई पनि फुटबल, भलिबल वा अन्य खेलहरुलाई जस्तै मान्यता दिँदै सकारात्मक सोचका साथ सरकारले त्यसको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । विश्वका अन्य मुलुकहरुमा स्केट खेलको विकाससँगै खेलाडीहरु उत्साहका साथ अगाडि बढिरहेका सन्दर्भमा नेपालमा पनि अबका युवा पुस्तालाई प्रोत्साहन र हौसला दिन जरुरी छ ।