पौष शुक्ल अष्टमी : सेतो मच्छेन्द्रनाथलाई गराइयो महास्नान
२४ मंसिर
२०८१, बुधवार
काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथलाई महास्नान गराइएको छ । काठमाडौँ महानगरपालिका–२५ स्थित केलटोलमा रहेको सेतो मच्छेन्द्रनाथको रथजात्राका लागि प्रत्येक वर्षको पौष शुक्ल अष्टमीका दिन महास्नान गराउने परम्परा छ ।
यही परम्पराअनुसार आज अपराह्नको शुभसाइतमा महास्नान गराइएको हो । केलटोलमा रहेको सेतो मच्छेन्द्रनाथलाई हिन्दूहरुले हरिहर, बौद्ध धर्मावलम्बी आर्यावलोकितेश्वर एवं वैष्णवले नारायणका रुपमा पुज्ने प्राचीनकालदेखिको परम्परा छ ।
महास्नानका क्रममा राजधानीको वसन्तपुरस्थित कुमारीघरबाट जीवित देवी कुमारीलाई ल्याइएको पुजारी नीलकाजी शाक्यले जानकारी दिनुभयो ।
महास्नाानका क्रममा मूल पुरोहितले चार दिशाका साथै अग्नि, नैऋत्य, वायु, इशानकोणकोसमेत पूजाअर्चना गरिएको थियो । पूजापछि शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको उहाँले बताउनुभयो ।
महास्नानको दिन पानी पर्ने र महास्नानको भोलिपल्ट घाम ताप्ने व्यवस्था मिलाउने प्रचलन छ । यसैअनुरुप मूर्तिलाई घाममा राख्ने बेला बदली हुने जनविश्वास रहिआएको छ । त्यसपछिका दिनमा १० कर्मको संस्कारसमेत गरिने परम्परा रहेको महानगरपालिका–२५ को पूर्ववडाध्यक्षसमेत रहनुभएका पुजारी शाक्यले सुनाउनुभयो । तस्बिर : नेपाल फोटो लाइवेरी