खानेपानीमन्त्रीद्वारा सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको शुभारम्भ

दक्ष खबर 16457+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गर्नु भएको छ ।  आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गर्नु भएको हो । 

आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।”  

यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत रूपमा शुभारम्भ गरेको छु । अब जार र बोतलको पानी विस्थापित हुन्छ ।”  

सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिनुभयो । 

मन्त्री यादवले धाराबाट आएको मेलम्चीको पानी सिधै पिएर वितरण कार्यको औपचारिक सुरुवात गर्नु भएको थियो । उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवसथापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार