जुम्ला । राधा फाउन्डेसनकाे आर्थिक सहयाेगमा पेस नेपालकाे आयाेजना र तातोपानी गाउँपालिकाकाे समन्वयमा आयोजित दुई दिने विशेष तालिम सम्पन्न भएको छ । तातोपानी गाउपालिकाकाे वडा - ६ मा आयोजित उक्त तालिमले महिलाहरूलाई स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणका लागि सचेतना जगाउँदै आत्मनिर्भर बन्न प्रेरित गर्ने आयोजकको विश्वास रहेको छ ।
२० जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिममा तातोपानी गाउँपालिका प्रमुखले महिनावारी प्याड बनाउने अभिमुखिकरण कार्यक्रम पेस नेपालले यस कार्यक्रम गरेर महिलाहरुलाई बाटो देखाईदिएको बताए । पालिका प्रमुखले यस प्रकारको प्रशिक्षणले महिला स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षण जस्ता महत्वपूर्ण विषयमा चेतना फैलाउनुको साथै महिलाहरूलाई आत्मनिर्भर बन्ने एउटा अवसर प्रदान गरेको बताए।
त्यस्तै, पालिका उपाध्यक्ष रेवति रावतले यो तालिम पश्चात यसको उत्पादनमा लाग्नुपर्नेमा जोड दिईन। प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशिक्षणले महिला स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षण जस्ता महत्वपूर्ण विषयमा चेतना फैलाएको र महिलाहरूलाई आत्मनिर्भर बन्ने एउटा अवसर प्रदान गरेकोले अवसरलाई व्यवहारिक रुपमा प्रयोग गरेर आयआर्जनको श्रोतको रुपमा विकास गर्नु पर्नेमा जोड दिईन ।
उक्त समापन समारोहमा सहभागीहरूले तालिमको अनुभव बाँड्दै महिनावारी स्वच्छता र पुनः प्रयोग गर्न सकिने प्याड निर्माण सम्बन्धी सिकाइलाई महत्वपूर्ण उपलब्धि भएको बताए । प्रशिक्षक तथा आयोजकहरूले महिलाहरूलाई आर्थिक सशक्तिकरण तर्फ अघि बढ्न प्रोत्साहित गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
तालिम पश्चात सहभागी महिलाहरूले स्थानीयस्तरमा नै पुनः प्रयोग गर्न सकिने प्याड निर्माण गर्दै आयआर्जन गर्ने योजनामा आफूहरु पुगेको बताउँदै कार्यक्रमले महिनावारी सरसफाइ, प्लास्टिक न्यूनिकरण तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने हुँदा स्थानीयस्तरका महिलाहरुलाई पनि आफूले सिकेर जानेको कुरा सबैसँग साझा गर्ने बताए ।