काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयले उच्च शिक्षामा पहुँच विस्तार गर्दै गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आइतबार सम्पन्न नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खुला तथा दूर सिकाइमार्फत देशभित्र र विदेशमा रहेका विद्यार्थीहरूलाई सर्वसुलभ उच्च शिक्षाको पहुँच पु¥याउने विश्वविद्यालयको प्रयास प्रशंसनीय रहेको बताइन् ।
दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप व्यक्तिगत विकाससँगै राष्ट्रनिर्माणमा सदुपयोग गर्न आग्रह गरिन् । दीक्षान्त समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए भने उत्कृष्ट विद्यार्थीलाई पदकसमेत प्रदान गरिएको थियो ।