
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा १९ जनाको कैद माफी

१४ जेठ २०८०, आइतबार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएको छ ।
आज राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेतका १९ जनालाई कैद सजाय माफी दिनुभएको हो ।
उक्त १९ जना व्यक्तिको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी भएको हो ।
“मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेतका १९ व्यक्तिहरुको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
